मधेश कांग्रेसको निर्णय- ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अरूलाई छाड्ने
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६० प्रतिशत क्षेत्र आफूहरूले लिने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने यसअघि नै निर्णय गरेको थियो। कुन दलले कति सिट लिने भन्ने सत्ता गठबन्धनमा छलफलकै क्रममा छ।
कांग्रेस मधेश प्रदेश कार्यसमितिले भने अरू दललाई ४० प्रतिशत सिट मात्रै छाड्न सकिने बताएको छ।
‘मधेशमा कांग्रेसको सबैभन्दा धेरै जनाधार भएकोले ६० प्रतिशत सिट राखेर अरू गठबन्धनलाई छाड्ने निर्णय भएको छ,’ प्रचारप्रसार समिति प्रमुख नितेश गुप्ताले भने।साथै बैठकले जिल्लाबाट सिफारिस भई आएका सबै उम्मेदवारका नाम केन्द्रमा पठाउने पनि निर्णय गरेको छ। ‘सिफारिसमा परेका उम्मेदवारका नाम रायसहित केन्द्रमा पठाउँछौं,’ उनले भने।