राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले कानुनविदलाई बालुवाटार बोलाए
नागरिकता विधेयकको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन, युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ।
संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका पठाइए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी अस्वीकार गरेकी थिइन्।
युवा संघले राष्ट्रपतिको उक्त कदमको समर्थन गर्दै आज दिउँसो माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन गरेको छ।
उक्त प्रदर्शनका क्रममा भएको कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरेका थिए।
‘हिजो चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउँदा तपाईंहरू राष्ट्रपतिलाई पनि महाभियोग लगाउने षड्यन्त्र गर्दै हुनुहुन्थ्यो,’ सत्तारूढ दलका नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘महाभियोग लगाउँदा पनि राष्ट्रपतिको पद निलम्बनमा पर्दैन भन्ने संविधानमै छ।’
उनले राष्ट्रपति र नेकपा एमालेका अध्यक्ष केपी शर्माको अपमान गर्न खोजिए विरोध गरिने पनि बताएका थिए।
आजै अनेरास्ववियुले पनि काठमाडौंमा राष्ट्रपतिको तस्बिर लिएर नागरिकता विधेयक प्रमाणीकरण नगरेको समर्थनमा प्रदर्शन गरेका थिए।