रोल्पामा माओवादीलाई नेता व्यवस्थापनकै समस्या
२०७४ सालको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छानेको नेकपा माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस गर्यो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र कुलप्रसाद केसीलाई सिफारिस गरेको माओवादीको जिल्ला समितिले समानुपातिक तर्फ तारा घर्तीको नाममात्रै सिफारिस गरेको छ ।
पहिलो पुस्ताकै नेताबीच उम्मेदवार बन्ने प्रतिस्पर्धा हुँदा दोस्रो–तेस्रो पुस्ताका नेताले अवसर पाउन सकेका छैनन् ।
नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगर शीर्ष नेताहरुलाई नयाँ पिँढीलाई अवसर दिन आग्रह गरेको बताउँछन् । ‘नयाँ पिँढीलाई पनि अवसर दिन एक पटक अवसर लिएकाहरुलाई नदोहोरिनुस् भनेका छौं, दोहोरिने हो भने अन्य जिल्लामा जान आग्रह गरेका छौं’ उनले भने ।
राष्ट्रिय व्यक्तित्व बनाइसकेकाहरुले अरु जिल्लाबाट पनि चुनाव जित्न सक्ने भन्दै उनले नयाँलाई अवसर दिएमा संसदमा जिल्लाको प्रतिनिधित्व पनि बढी हुने अध्यक्ष घर्ती बताउँछन् ।