रवीन्द्र मिश्रको रोडम्याप : राप्रपासँग एकता, एमालेसँग तालमेल
विवेकशील साजा पार्टीको नेतृत्व छाडेका रवीन्द्र मिश्र राप्रपासँग एकता गर्ने तयारीमा छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-१ बाटै पुनः उम्मेदवारी दिन लागेका मिश्रसँग यसपल्ट चुनाव चिह्न छैन । मनोनयन अगावै राप्रपासँग ‘एकता’ या प्रवेश भएको खण्डमा उनी हलो चिह्नबाट चुनाव लड्ने अनलाइनखबरलाई सूचना प्राप्त छ ।
तर राप्रपा अध्यक्ष कुमार लिङ्देन मिश्रलाई तत्कालै पार्टी नेतृत्वमा ल्याउन इच्छुक देखिए पनि दुई वरिष्ठ नेताहरु विक्रम पाण्डे र बुद्धिमान तामाङबीचको व्यक्तित्व टकराबबीच यो चाहनाले प्रतिफल पाउन सकेको छैन ।
नेताहरूको वरीयता र वरिष्ठता व्यवस्थापनको मुद्दा एकता-छलफलको अग्रभागमा आएको बुझिएको छ । केही दिनअघि अनलाइनखबरसँग छलफल क्रममा मिश्रले राप्रपासँगको आफ्नो बढ्दो निकटताबारे खुलाएका थिए ।
वैकल्पिक राजनीतिको विमर्श चलाइरहेका मिश्र हिजोआज संवैधानिक राजसंस्था, हिन्दु-बौद्ध राज्यलगायत माग राखेर मार्ग परिवर्तनको बाटोमा लागेका छन् ।
‘एकताको छलफल हुँदैछ, तत्कालै भएन भने पनि चुनावमा मलाई राप्रपाले सहयोग गर्न सकारात्मक जवाफ दिएको छ’ मिश्रले भने, ‘एमालेले पनि सहयोग गर्ने अपेक्षा राखेको छु ।’