मधेश सरकारको प्रशासनिक भवन बनाउन जचुकाली प्राङ्गण नै उपयुक्त
मधेश सरकारको प्रशासनिक भवनका निम्ति जग्गा पहिचान गर्न गठित समितिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्राङ्गणलाई नै प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ ।
मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको प्रतिवेदनमा जचुकाली प्राङ्गणमै मधेश सरकारको प्रशासनिक भवन बनाउन उपयुक्त हुने उल्लेख छ ।
प्रशासनिक भवनसहित अन्य भौतिक संरचना निर्माणका लागि सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा एक समिति बनाएको थियो । समितिले सरोकारबालासँग छलफल गर्दै तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइएको समिति संयोजक मन्त्री यादवले बताए ।
उनका अनुसार राजधानीको मूल संरचनाको लागि जचुकाली परिसरलाई नै मुख्य प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारिएको छ ।