पर्यटन मन्त्रालयको नियति : १० वर्षमा १६ मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको राजनीतिक जिम्मेवारी सम्हालेका जीवनराम श्रेष्ठले सोमबार पदभार ग्रहण गरेलगत्तै आफू चुनावसम्मको मात्रै मन्त्री भएको बताए ।
‘मसँग धेरै समय छैन’ उनले भने, ‘विगतमा जिम्मेवारी पाएका ठाउँमा सम्झनलायक काम गरेको थिएँ, यहाँ पनि त्यस्तै प्रयास गर्नेछु ।’
आगामी संघीय संसद र प्रदेशसभा निर्वाचनसम्मका लागि मन्त्री बनाइएका श्रेष्ठसँग पर्यटन र उड्डयन क्षेत्र सुधारको विशेष एजेन्डा छैनन् । करिब ६ महिनाका लागि नियुक्त भएका उनी यसै पनि १० वर्षमा बनेका १६औं पर्यटनमन्त्री हुन् । आइतबार मन्त्री प्रेमबहादुर आले बाहिरिएपछि पर्यटन मन्त्रालयभित्र हर्षको वातावरण छ ।
स्वभावाका हिसाबले पनि उनको बहिर्गमन जरुरी भइसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार आलेले एक तउच्च राजनीतिक तह र उड्डयन क्षेत्रका स्वार्थ समूहलाई रिझाउने हिसाबले काम गरे । त्यसमाथि, बोली-व्यवहार पनि बेलगाम भयो ।