हेमराज शर्मा : घोराहीमा माओवादीको इतिहास लेखाउने अवसर
नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् ।
२०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका पूर्णकालीन सदस्य भएका थिए । उनी पार्टीभित्र ‘डायमण्ड’ उपनामले चिनिन्छन् ।
शालीन स्वभावका शर्मा पार्टीभित्र समस्या समाधान र संगठन गर्न सक्ने नेताका रूपमा चिनिन्छन् । युद्धकालमा उनले कम उमेरमै पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हाले । उनी युद्धकालमा माओवादीले सञ्चालन गरेको जिल्ला जनसरकारका योजनाकार समेत हुन् ।
घोराहीको मेयरमा शर्मालाई जिताउन पूर्वसभामुख कृष्णबहादुर महरा गृहजिल्ला आएका छन् । घोराही महराको निर्वाचन क्षेत्र भएकाले शर्माले जिते आगामी चुनावमा महरालाई पनि सहज हुने देखिन्छ । अघिल्लो संघीय चुनावमा महरालाई जिताउन शर्माले महत्वपूर्ण भूमिका खेलेका थिए ।