इतिहास रच्ने दाउमा एमाले र सबै दलबाट भोट पाउने आशामा राप्रपा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चुनावी माहोल तातेको छ । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक सबै हिसाबको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकामा कसले बाजी मार्ला भन्नेबारे लेखाजोखा हुन थालेको छ । राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । अन्य दलभन्दा एमाले आक्रामक तरिकाले घरदैलोमा व्यस्त देखिन्छ । एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल स्वयं मेयरका उम्मेदवार मोहनमाया ढकालसँगै घरदैलो कार्यक्रममा सरिक देखिन्छन् । एमालेका जिल्लास्तरका सबैजसो नेता प्रचार अभियानमा प्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा मेयर जितेको नेपाली काँग्रेसले यो पटक कडा चुनौती सामना गर्दैछ । काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लामा यो पटक काँग्रेसभित्रको आन्तरिक कलह सतहमा छ । जसका कारण काँग्रेसभित्रकै संस्थापन इतर पक्षले आफ्नै पार्टीका उम्मेदवारलाई खुलेर साथ दिन सकेको छैन ।
राप्रपा पनि आशावादी
राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरी पनि बलिया उम्मेदवारमा पर्छन् । उनी वीरेन्द्रनगरका पुराना नेता हुन् भने साविकको लाइटिकोइलीका प्रधानपञ्चसमेत हुन् । २०६१ सालमै वीरेन्द्रनगरको मेयर बनेका उनको वीरेन्द्रनगरमा ठुलो योगदान छ । हाल घरदैलोमै व्यस्त गिरीले भने, ‘मैले विगतमा केही काम सुरुवात गरेको थिएँ । अहिले त्यसलाई पूर्णता दिनका लागि म उम्मेदवार भएको छु, नेतृत्वमा पुगेका पार्टीले जनताको आशा अनुसार काम गरेनन् भन्ने जनताको मानसिकता छ । त्यसैले जनताले हामीप्रति केही आशा बुनेका छन् ।’
आफूले कसैप्रति दोषारोपण गरेर नभइ सबै पार्टीका नेता, कार्यकर्तासँग मित्रवत् व्यवहार गरेर सबैको समर्थन बटुल्ने प्रयास गरेको उनको भनाइ छ । उनले भने, ‘सबैले पार्टीगत रुपमा आ–आफ्नो दलको झण्डा बोकेर हिँड्नुपर्ने अवस्था आए पनि भोटचाहिँ मलाई दिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।’
राप्रपाले ०७४ मा ईश्वरकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा ५५७ मतमात्र ल्याएका थिए ।