अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउछौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य नेकपा एमाले फर्किएनन् । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि धनराज पनि सक्रिय राजनीतिमा त फर्किए तर विद्रोही भएर ।
एमाले नेतृत्वसँग असन्तुष्ट माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउँदा आचार्य कास्की संयोजक भए । माधव नेपाले एकीकृत समाजवादी बनाउँदा आचार्य पनि कास्की अध्यक्ष बने ।
त्यही विद्रोहबाट आचार्य यसपालि पोखरा महानगरको मेयरको कुर्सीमा पुगेका छन्। एमालेमा रहँदा जसलाई मेयर र सांसदसमेत बनाउन सहयोग गरेका थिए, उनैलाई हराउँदै आचार्य पोखराको मेयर बनेका हुन् । एमालेका कृष्ण थापालाई २०५४ सालमा पोखराको मेयर र २०७४ सालमा सांसद बनाउन आचार्यले सहयोग गरेका थिए । यसपटक उनै थापालाई हराउँदै आफू मेयरमात्र बनेनन्, २५ वर्षपछि पोखरामा एमालेको बिरासतसमेत ढलाइदिए ।
एकीकृत समाजवादीको संगठन निर्माणमा जुट्दादेखि नै उनले संकेत पाइसकेका थिए कि स्थानीय तहको चुनावमा गठबन्धन हुन्छ र उनले यो पनि आश्वासन पाइसकेका थिए, महानगरमा गठबन्धन हुँदा समाजवादीले पोखरा नै रोज्छ । नभन्दै स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन मात्र गरेनन्, पोखरा महानगर एकीकृत समाजवादीले नै पायो, धनराज मेयरको उम्मेदवार बने । गठबन्धनमा अवद्ध कांग्रेसभित्र देखिएको विरोधलाई चिर्दै उनले चुनाव समेत जितेर देखाएका छन् ।
गठबन्धनका उम्मेदवार आचार्य ५८ हजार ८९३ मत ल्याएर चुनाव जित्दा एमालेबाट उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत मात्र ल्याए । प्रस्तुत छ, पोखराका नवनिर्वाचित मेयर आचार्यसँग स्थानीय चुनाव, मत परिणाम र पोखरा महानगरको भावी योजनाका विषयमा अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :
गठबन्धनको सहारामा एकीकृत समाजवादीबाट चुनाव पनि जित्नुभयो, सुरुमा गरेको हिसाबकिताब र प्राप्त चुनावी परिणाम कति मिल्यो, कति मिलेन ?
मैले सुरुमा गरेको हिसाब किताब र परिणाम धेरै हदसम्म मिल्यो । गठबन्धनबाट अगाडि बढ्दा यति मत आउला भन्ने थियो । नोमिनेसनकै दिनमा १५ देखि १८ हजार समाजवादीको मत आउँछ भनेको थिएँ । मैले प्राप्त गरेको मत, उपमेयर र वडाध्यक्षको मत हिसाब गरेर हेर्दा ठूलो मत बदर भयो । यसमा निर्वाचन आयोगको पनि हामीलाई झुक्याउने काम भयो । सदर र बदर मत दुबै हेर्दा २४/२५ हजार मतान्तरले हामी विजयी भएको देखिन्छ, मेरो हकमा ।