चुनावपछि इन्धनको मूल्य हृवात्तै बढाउने तयारी
चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन -आईओसीले) नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ । ३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए ।त्यसका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निगमलाई अनुमति दिइसकेको उनको भनाइ छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ थानीले भने, ‘तत्काललाई निगम जोगाउन अरु कुनै उपाय नभएपछि मूल्य बढाएरै जानु पर्ने देखियो ।’