तहसनहस सत्ता गठबन्धन
पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए ।
सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए ।
अर्को महत्वपूर्ण महानगर हो, पोखरा । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे । तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न सकेन ।