कांग्रेसमा एकता जरुरी : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् ।
उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए ।
‘कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्वमन्त्रीसमेत रहेका महतले बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांगे्रसमय हुने दाबी गरे । उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’
प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिम मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको बताए ।