कानुन र न्यायिक मूल्यमान्यता उल्लंघन गरेकाले जबराविरूद्ध महाअभियोग- गुरूङ
प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको हो। बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङले महाअभियोग प्रस्ताव पेश गरेका हुन्।
महाअभियोग प्रस्ताव पेश गर्दै प्रमुख सचेतक गुरूङले प्रधानन्यायाधीश जबराले संविधान, नियम, कानुन र न्यायिक मूल्यमान्यताको उल्लंघन गरेका कारण महाअभियोग प्रस्ताव ल्याउनु परेको बताए।
जबराले संवैधानिक परिषद् र कार्यपालिकामा भाग खोज्ने गरेको, कार्य क्षमताको अभाव भएको, न्यायिक आचरणको अभाव देखिएको र सर्वोच्च अदालतको नेतृत्व समेत गर्न नसक्ने भएकाले उनलाई पदमुक्त गर्नका लागि महाअभियोग प्रस्ताव पेश गरिएको प्रमुख सचेतक गुरुङले स्पष्ट पारे।
न्याय परिषद तथा संवैधानिक परिषदको सदस्यको हैसियतले संवैधानिक परिषद् र कार्यपालिकामा समेत पनि हिस्सा खोज्ने प्रकारका प्रवृत्तिहरु देखा परेको भन्दै उनले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता भन्ने कुरा रहन नसकेको दाबी गरे।