माधव नेपालसहित १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइका लागि पठाउन आदेश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट पुनः पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिइएको छ ।
आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले नेपालसहित १४ सांसदविरुद्ध दायर भएको रिट पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएको हो ।
पार्टीको अनुशासनमा नबसेको भन्दै अध्यक्ष ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । र, सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले निलम्बित गरेका सांसदहरुलाई कारबाही गर्न पत्र पठाएका थिए ।
तर, सभामुख सापकोटाले नेपालसहित १४ सांसदलाई हालसम्म कारबाही गरेका छैनन् । निर्वाचन आयोगले पनि नेपाल समूहलाई नेकपा (एकीकृत समाजवादी पार्टी) दर्ता गर्न दिएको थियो ।
पार्टीले कारबाही गरेकाहरुलाई सभामुखले कारबाही नगरेको र आयोगले पनि सजिलै दल दर्ताको प्रमाणपत्र दिएपछि उक्त निर्णयविरुद्ध अध्यक्ष ओली अदालतको ढोका ढकढक्याउन पुगेका थिए । आइतबार पूर्ण सुनुवाईका लागि पठाउन आदेश दिइएको ओलीको रिट पेशीका लागि १२ औं पटकमा चढेकाे छ ।