एमाले जिम्मेवार भए महत्त्वपूर्ण विधेयक पारित गर्छौं : कानुनमन्त्री बडु
सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसदबाट पारित हुने बताएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमतिबाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील भएमा केही दिनमा विधेयकहरु पारित हुने बताए ।
जनताका जल्दाबल्दा समस्यासम्बन्ध विधेयक विचाराधीन रहेको भन्दै उनले ती विधेयकमाथिको छलफलमा एमाले सहभागी हुनुपर्ने बताए ।
एमाले जिम्मेवार बनेमा संसद मार्फत जनताप्रतिको उत्तरदायित्व पूरा हुने उनले बताए । ‘जनताका यति महत्वपूर्ण समस्या जो बल्झिएका छन्, त्यसलाई संसदमा मुखरित गर्नुपर्छ सरकारलाई जिम्मेवार बनाउन उहाँहरु आइदिनुपपर्छ । छलफलमा भाग लिनुपर्छ । त्यस्तै सबै विधेयकको छलफलमा उहाँहरुको सहभागिता हुनुपर्छ’ मन्त्री बडुले भने ।