केपी ओलीले दल विभाजनविरूद्ध दिएको रिट अन्तिम सुनुवाइमा
सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरुद्ध परेका रिटमाथि अब अन्तिम सुनुवाइ हुने भएको छ।
एमाले अध्यक्ष केपी ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिटमाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।
एकसाथ राखेर सुनुवाइ भइरहेका यी रिटलाई आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले पूर्ण इजलासमा पठाउने भनेको अधिवक्ता रमेश बडालले जानकारी दिए।
अब यी रिटमा अन्तिम सुनुवाइ हुनेछ। उक्त सुनुवाइ सकिएपछि फैसला आउने छ।
एमाले अध्यक्ष ओलीले नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्वाचन आयोग, १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नुपर्नेमा समाजवादीका सांसद कायम गरिदिएको भन्दै सभामुख अग्नि सापकोटा र पार्टीले कारबाही सिफारिस गरेका दुई लुम्बिनी प्रदेश सांसदलाई प्रदेश सभामुखले निलम्बन नगरेको भन्दै रिट दिएका थिए।