ठूला राजनीतिक दलले मुलुकलाई असफल पारे : लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालका ठूला राजनीतिक दलहरूले प्रयोग गर्दै आएको कूटनीतिले मुलुकलाई असफल पारिरहेको बताएका छन्।
लोहनीले नेपालको राजनीति तथा वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चर्चा गर्दै सोमबार यस्तो बताएका हुन्। राप्रपा आवद्ध अन्तर्राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरूको कूटनीतिले मुलुकलाई असफल बनाएको बताए।
अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रम यस वर्ष नेपालको तर्फबाट भएको थियो।
कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष हिक्मतजंग कार्कीले गरेका थिए। कार्यक्रममा ३४ देशको सहभागिता रहेको थियो। नेपालबाट डा. लोहनी, डा. गीताभक्त जोशी, सागर थापा, रिद्धिप्रताप जंगबहादुर राणालगायतका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लोहनीले नेपालको राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा चर्चा गरेको उपाध्यक्ष कार्कीले जानकारी दिए।
कार्यक्रममा अफ्रिका, जर्मनी, बेलायत, भारत, इटाली, अमेरिका तथा अष्ट्रेलियालगायत २९ राष्ट्रको सहभागिता रहेको उपाध्यक्ष कार्कीले बताए।