कालापत्थरबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणा–पत्र जारी
अन्तर्राष्ट्रिय नारी दिवसका सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणा–पत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो ।
मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो ।
घोषणा पत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने, मानव स्वास्थ्य प्रणालीको दीगो व्यवस्थापनका लागि प्रवद्र्धन गर्न अपील गर्ने उल्लेख छ ।
त्यस्तै घोषणा पत्रमा विश्वव्यापी जलवायु न्याय आन्दोलनसँग हात मिलाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रमुख प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेष गरी महिलालाई जागरूकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिएको ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले जानकारी दिइन् ।