निर्वाचन आयोगले गठबन्धनसँग भित्रभित्र कुरा गर्यो: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्।
आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ।
आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्तागठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको दाबी गरेका छन्।
सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीको थियो।
उनले यसपालि चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने बताएका छन्। उनले पार्टी प्रवेशको लहर नै चलेको बताए। उनले केही मुद्दा सर्वोच्चमा रहे पनि एमालेले कुनै पनि दबाब नदिने बताए।
‘हामी अहिलेको गठबन्धनले जस्तो अदालतलाई प्रहार गर्दैनौं,’ उनले भने, ‘सर्वोच्च साँच्चिकै सम्मानित हुन सकोस्। यो स्वच्छ थलोका रूपमा आम जनताले सम्मान गर्न पाउन भन्ने चाहन्छौं।’