आहुतिको पार्टी पनि चुनावमा नजाने, वैद्य र विप्लवसँग एकता प्रयास पनि ‘असफल’
विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पनि आगामी चुनावमा सहभागी नहुने भएको छ ।
अभियानको रुपमा सुरु भएर २०७५ वैशाखमा पार्टीका रुपमा घोषणा भएको यो दलले भोलि (बिहीबार)देखि काठमाडौंमा प्रथम राष्ट्रिय भेला गर्दैछ ।
यो दल ३० वैशाखको स्थानीय तह निर्वाचनमा भने सहभागी नहुने पक्का भएको छ । ‘अहिले दलाल पुँजीवादी संसदीय व्यवस्थालाई उपयोग गर्ने वा भाग लिने दुवै अवस्था छैन भन्ने हाम्रो बुझाइ छ’ संयोजक आहुतिले अनलाइनखबरसँग भने, ‘यसबाट समस्या समाधान हुने देखिएको छैन । जनतालाई भ्रम दिने थलो बाहेक केही बनेको छैन ।’
मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिष्कारको निर्णय गरिसकेको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मध्यमार्गी निर्णय गर्दै उपयोग न बहिष्कारको लाइनमा छ ।