गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा
सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन्। आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ। जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए। गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ।