देउवाको प्राथमिकता भारतसँग सम्बन्ध सुधार
नेपाल र भारतबीच एकआपसमा उच्चस्तरीय राजनीतिक भ्रमण नभएको आगामी वैशाखमा तीन वर्ष पुग्दैछ । सन्दर्भविना पनि बाक्लै आवतजावत भइरहने छिमेकीबीच यति लामो समयसम्म उच्चस्तरीय भ्रमण हुन नसक्नु दुई देशबीचको सम्बन्धमा सौहार्दता नभएको स्पष्ट संकेत हो । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० गतेसम्म गर्ने तीनदिने भ्रमणलाई सम्बन्ध सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्ने भएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रधानमन्त्रीको भ्रमण एकअर्काको कुरा सुन्ने र बुझ्ने अवसरका रूपमा लिइने बताउँछन् । ‘नेपाल र भारतबीच छलफल गर्नुपर्ने विषयहरू तमाम छन् । ती सबै विषयमा पनि छलफल होला,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतले भने, ‘तर, मुख्यतः केही समययता देखिएको दुई देशबीचका अप्ठ्याराहरूलाई चिर्ने र सौहार्दता कायम गर्ने विषय नै मुख्य हुनेछ ।’