भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाएको सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।
केन्द्रका सचिव सुशीलचन्द्र तिवारी नेतृत्वको प्रतिनिधिमण्डलले आव ०७७/७८ को १९औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको हो । प्रतिवेदनमा केन्द्रले आर्थिक वर्षमा गरेका मुख्य काम कारबाहीबारे उल्लेख गरिएको छ । केन्द्रद्वारा आव ०७७/७८ मा सम्पादन भएका कार्य र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा नेपाल सरकार समक्ष प्रस्तुत गरिएका सुझावसमेत समावेश गरी राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियमबमोजिम प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरिएको केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।