मुलुक अनिर्णयको बन्दी भयो, गठबन्धन छिटो भत्किनुपर्छ : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले भने ।
अहिले सत्ता गठबन्धनभित्र देखिएको संकटलाई राष्ट्रिय संकटको रुपमा देखाइएको र मुलुकलाई भूराजनीतिक चलखेलको केन्द्र बनाइएको भट्टराईले टिप्पणी गरे ।
‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ’ उनले भने ।