देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी, भाडा ७० रूपैयाँ
धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्।
रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो।
रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए।
रेल्वे लिक बनाउन आफ्नो जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताए।
२०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ।
अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको उनले बताए।
रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको उनको भनाइ छ।
रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिप चोरी भइरहेको र ठाउँठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृतरूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए।