प्रचण्डलाई ओलीको जवाफः एमसीसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।
सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।
एमसीसी पास गर्ने निर्णय गर्नुप¥यो भन्दै बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए । प्रचण्डले ओलीसँग एमसीसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौं या त चुनावपछि पारित गर्छौं भनेर अमेरिकालाई संयुक्त रुपमा भनौं भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसीसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।
अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसीसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबावका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।
एमाले एमसीसी पास होस् भन्ने पक्षमा भए पनि अहिले नै आफ्नो पोजिसन क्लियर गर्न भने चाहेको छैन । एमसीसी पनि पास होस्, गठबन्धन पनि टुटोस् भन्ने बटमलाइनमा बसेर एमालेले आगामी रणनीति तय गर्नेे नेताहरुको भनाइ छ ।