देउवा र ओली अघि बढेको दाबी
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटघाटपछि राजनीति अघि बढेको कांग्रेसका एक नेताले दाबी गरेका छन्।
‘दुबै नेताबीच अहिलेको राजनीति र एमसिसीलाई निकास दिन लगभग सहमत हुनुभएको छ,’ ती नेताले भने।
प्रधानमन्त्री देउवा संसदबाट यसपालि आफ्नै सरकारले चार वर्षअघि अमेरिकासँग गरेको एमसिसी सम्झौता अघि बढाउनेमा दृढ देखिएका छन्। त्यसका लागि उनले भरसक गठबन्धनभित्रै सहमति गराउन लामो समयसम्म प्रयत्न गरे। उनको नेतृत्वमा गठबन्धन सरकार बन्ने बेलामै एमसिसी सम्झौताको विषय न्यूनतम साझा कार्यक्रममा राख्ने पक्षमा उनी थिए।
गठबन्धन सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नराखौं पछि सहमति गरेर एमसिसी पास गर्ने हो भनेपछि देउवा सहमत भएका थिए।
‘पछिल्लो ६ महिनामा एमसिसीको पक्षमा प्रचण्डलाई सहमत गराउन प्रधानमन्त्री देउवाले धेरै प्रयत्न गर्नुभयो। हिजोसम्मको प्रत्यन्नले त्यो सफल हुने नदेखिएपछि उहाँ अघि बढ्नु भएको हो,’ उनले भने।
प्रचण्ड कुनै पनि हालतमा एमसिसी पास गर्ने दिशामा अघि बढ्न सक्दैनन् भन्ने निष्कर्षमा कांग्रेसको शीर्ष नेतृत्व पुगेको पनि उनले बताए।