निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो ।
“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भन्नुभयो । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।”
नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।” उहाँले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गर्नुभयो ।