एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ । त्यसले केही फरक पार्नेवाला छैन ।’
नेता खनालले गठबन्धन टुटे पनि केही फरक नपर्ने टिप्पणी गरे । ‘त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन । हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ ।’