आफूलाई नसोधी पद दिएको भन्दै रावलले आपत्ति जनाए
नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधीकनै कुनै पद दिइनु आपत्तिजनक रहेको बताएका छन् । पार्टीले उनलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य पदमा जिम्मेवारी तोकेपछि उनले आपत्ति जनाएका हुन् ।
आफ्नो ट्विटरबाट उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उहाँलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गरेका छन् । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।