हामी सरकारमा आउन एक वर्ष पनि पर्खनुपर्दैन: ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए। अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्ग लगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याए।
उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए।