राहदानी विभागले इ-पासपोर्ट सार्वजनिक गर्यो
राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो।
बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।
जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।
परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।
आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे।
'पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ', उनले भने।
अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे. केही समस्या भए तुरून्त जानकारी गराउनसमेत मन्त्री खड्काले आग्रह गरे। राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले पनि हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताए। संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उनले उल्लेख गरे।
अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिए।
यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको उनले बताए। उनका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ।