एजेन्डा छैन कसरी चुनावमा जाने भन्ने नठान्नु होला: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चुनावमा जान कुनै गाह्रो नहुने बताएका छन्।
एजेन्डा आफूहरूसँगै रहेकोले कसरी चुनावमा जाने भन्ने नठान्न उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्। आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामको फेहरिस्त रहेको पनि बताए।
‘हामीसँग एजेण्डा छैन, कसरी चुनावमा जाने भन्ने नठान्नु होला। हामीले काम गरेका छौँ। कामको फेहरिस्त छ,’ उनले भने, ‘राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं।’
उनले केही नगर्ने र एजेन्डा नहुनेहरू त चुनावमा जान्छु भनेको पनि बताए। ‘हामीलाई केही गाह्रो छैन,’ उनले भने। असोज ८ देखि एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरूमा केन्द्रित छ। असोज १५ देखि १७ सम्म एमालेले विधान महाधिवेशन गर्ने भनेको छ।
आज बसेको केन्द्रीय कमिटीले राजनीतिकलगायत प्रतिवेदन पारित गर्ने तयारी गरेको छ।