आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् ।
‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले विगत स्मरण गर्दै भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’
पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर ‘छप्पर फाटेर’ आएको र अब त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डले बताए ।