निर्वाचन आयोगले प्रदेशलाई पठायो एमाले र माओवादी ब्युँतिएको जानकारी
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले प्रदेश सभामा सो जानकारी पठाएको छ ।
निर्वाचन आयोगले प्रदेश सभामा कायम रहेको नेकपा सर्वोच्चको आदेशले खारेज भएको र नेकपा एमाले तथा माओवादी केन्द्र नै कायम रहेको भन्दै पत्र पठाएको हो। प्रदेशसभामा नेकपाका ६७ सदस्य रहेको प्रदेशसभामा एमालेमा ५१ र माओवादी केन्द्रमा १६ जना कायम भएका छन् । यसअघि नेकपाका ३७ जना सदस्यले मुख्यमन्त्री राई विरूद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव लामो रस्साकस्सीपछि फागुन ९ गते टेबल भएको थियो। प्रस्ताव छलफलमा जान नपाउँदै एमाले र माओवादी ब्युँतिएपछि मुख्यमन्त्री शेरधन राईले राहत महसुस गरेका छन् ।
उक्त अविश्वास प्रस्तावमा माओवादीका १५ र एमालेका २२ जनाको हस्ताक्षर थियो। एमालेका ६ जनाले हस्ताक्षर फिर्ता गरिसकेका छन्। दल अलग भएपछि अविश्वासको प्रस्तावमा कानुनी जटिलताहरु देखिएको र समाधानका लागि कानुनी परामर्श गरिरहेको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
सरकारलाई गरेको समर्थन माओवादी केन्द्रले औपचारिक रुपमा फिर्ता नगरेसम्म सत्ता पक्षकै बेन्चमा रहने संसदीय चलन छ। माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको खण्डमा भने प्रदेशसभामा उनीहरुको बस्ने व्यवस्था पनि अलग्गै राख्ने प्रदेशसभा सचिवालयले तयारी गरिरहेको छ ।