कांग्रेस पदाधिकारी बैठक आज बस्दै
नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज (साेमबार) बस्दै छ । दिउँसाे २ बजेका लागि बाेलाइएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने/नल्याउनेबारे ठाेस छलफल हुने बताइएकाे छ ।
भाेलि १० गते प्रतिनिधिसभा बैठक बस्ने भएकाले उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने एजेन्डा तय गर्न अघिल्लो दिन नै कांग्रेसले पदाधिकारी बैठक बाेलाएको हाे । पछिल्लाे समय सत्ता समीकरणकाे खेल चलिरहेकाले कांग्रेस पदाधिकारी बैठकलाइ चासाेका साथ हेरिएकाे छ ।
वर्तमान सरकार ढाल्नेबारे समेत कांग्रेस नै निर्णायक हुने देखिएकाे छ । अविश्वास प्रस्ताव ल्याए पनि कांग्रेस लगायत अन्य असन्तुष्ट दलकाे ऐक्यबद्धताबिना असफल हुने भएकाले पनि अहिलेसम्म सरकार ढाल्न कुनै पनि दलले हिम्मत गर्न सकेका छैनन् । नेकपा विघटन भएर माओवादी र एमाले छुट्टिएपछि दलीय समीकणकाे खेल सुरू भएकाे हाे ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । अर्कोतिर कांग्रेस, माओवादी तथा जनता समाजवादीको गठबन्धनबिना सरकार ढाल्न र नयाँ बनाउन समेत असम्भव भएको छ । तर यी तिनै दलबीच अझै पनि विश्वासको वातावरण बन्न नसक्नु र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ठोस निर्णयमा पुग्न नसक्नुले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याइहाल्ने आँट नगरिएको बुझिन्छ ।
कांग्रेसकाे आजकाे बैठकमा पनि यिनै विषयमा छलफल हुने बताइएकाे छ । स्राेतका अनुसार बैठकमा पार्टी भित्रका आन्तरिक विषय, महाधिवेशबारे र पछिल्लाे समय विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।