ओलीजीले गणतन्त्रको नायक मै हो भन्न थाल्नु भएको छ : सुरेन्द्र पाण्डे
नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले 'बयलगाडा चढेर अमेरिका पुगिँदैन' भन्ने केपी शर्मा ओलीले अहिले 'गणतन्त्रको नायक मै हो' भन्न थालेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एमालेको खनाल–नेपाल पक्षधर अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले गणतन्त्र प्राप्तिको लडाइँमा ओलीको विचारले हारेको तर अहिले त्यसको नायक आफै भएको दाबी गर्न थालेको बताएका हुन् ।
‘जतिखेर राजाले ०६२/६३ को आन्दोलनपूर्व नेताहरुलाई थुनेर, लोकतन्त्रमाथि घाँटी निमोठेर फेरि एकलौटी शासनको कुचेष्टा गरिरहेका थिए, यो अनेरास्ववियू झण्डा बोकेर सडकमा उत्रेको थियो । त्यसबेला यस पार्टीका अध्यक्षले बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्नु भएको थियो,’ पाण्डेले भने, ‘त्यतिबेला ओलीजीले लिएको विचारले हार्यो । ओलीजी अब त गणतन्त्रको नायक मै हो भन्न थाल्नु भएको छ । तर, आफ्ना कमजोरीलाई देखिरहनु भएको छैन ।’
विद्यार्थीले पढ्न हुँदैन भन्ने मान्छे देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनु दुर्भाग्यपूर्ण भएको बताए । प्रधानमन्त्री ओलीले एक कार्यक्रममा विद्यार्थी पढ्ने जमात हैन भनेको भन्ने प्रसंग निकाल्दै पाण्डेले भने, ‘पार्टीका अध्यक्ष ओलीजीले एउटा कार्यक्रममा भन्नु भएको थियो, विद्यार्थी पढ्ने जमात हैन । बुद्धले पढेका थिए ? भनेर उदाहरण दिनु भएको थियो । यस्तो व्यक्ति हाम्रो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण कुरा हो । जसले विद्यार्थीलाई पढ्न हुँदैन भन्छ । र, नपढ्ने कुराको शिक्षा दिन्छ । त्यस्तो मान्छे अरु देशमा भए राजनीतिबाटै सन्न्यास लिएर जानुपर्ने स्थिति आउँथ्यो । तर दु:खद् कुरा हामीले यस्ता नेता बेहोर्यौँ ।’