दाङमा ७ अर्ब खर्चेर १६ सय मिटर धावनमार्गको दोस्रो विमानस्थल बनाइँदै
आन्तरिक उडानका लागि दाङमै दोस्रो विमानस्थल निर्माण कार्य द्रुत गतिमा अगाडि बढाएको छ । पछिल्लो चार वर्षदेखि बजेटमा समावेश गरिँदै आए पनि चासो नदिइएको आयोजना संसद् विघटन गरेर चुनाव घोषणा गरेको सरकारले अहिले निर्माणमा तीव्रता दिएको हो ।
गत महिना प्रारम्भिक अध्ययन सकिएको आयोजनाका लागि विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए)अगाडि बढाउन पर्यटन मन्त्रालयमा प्रस्ताव पठाइएको छ । पर्यटन मन्त्रालयका अधिकारीहरूले दाङमा दोस्रो विमानस्थल उपयुक्त नदेखिएको भन्दै बनाउन नहुने निर्णय नगरेपछि पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारीमा छन् ।
हालको टारीगाउँ विमानस्थलबाट १० किलोमिटरनजिक घोराही उपमहानगरपालिकाभित्र रहेको नारायणपुरमा दोस्रो विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन सम्पन्न गरेर विस्तृत अध्ययन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणले ५ करोड खर्च गरेर प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अध्ययनले ७ अर्ब रुपैयाँ विमानस्थल निर्माणमा खर्च हुने अनुमानसमेत गरिएको छ । १६ सय मिटर लामो धावनमार्ग तयार पारिनेछ ।
प्रारम्भिक अध्ययनअनुसार विमानस्थल निर्माणका लागि ७ सय हेक्टर जमिनको मुआब्जा दिनुपर्ने हुन्छ । हालको विमानस्थल रहेको टारीगाउँ विमानस्थल विस्तार गर्न नसकिने निष्कर्षसमेत प्राधिकरणले निकालेको छ । अहिलेको विमानस्थल विस्तारका लागि ठूलो रकम मुआब्जामा खर्च हुने देखेर नयाँ विमानस्थल निर्माणलाई अगाडि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
‘टारीगाउँ विमानस्थललाई मुआब्जा दिएर विस्तार गर्नुभन्दा नयाँ विमानस्थल निर्माणमा खर्च कम लाग्ने देखेर ठूलै क्षेत्रफल लिएर भविष्यमा अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार गर्न सकिने विमानस्थल निर्माणलाई अगाडि बढाएका हौँ,’ महानिर्देशक राजन पोखरेलले बताए । अहिलेको धावनमार्ग ८ सय ३२ मिटरको छ । उक्त विमानस्थलको विस्तारविना कुनै पनि ठूला जहाज उडान–अवतरण गर्न सकिँदैन । ‘दाङको हालको विमानस्थलमा ट्विनअटर र साना जहाज मात्रै उडान गर्न सक्छन्,’ पोखरेलले भने, ‘नयाँ विमानस्थल निर्माणपछि हालको विमानस्थललाई ‘फ्लाइङ स्कुल’ बनाउने योजना छ ।’