रामकुमारी झाँक्री निवासबाटै पक्राउ
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसदर रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार उनलाई शंखमुलस्थि निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले झाँक्रीविरुद्ध 'राज्यको कसुरविरुद्ध अपराध' मुद्दामा पक्राउपूर्जी लिएर पुगेको थियो। कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा गिरफ्तारि दिएको बताइन्।
‘सरकारको आदेश अनुसार म आफ्नै निवासबाट गिरफ्तारि दिँदै छु’, उनले भनिन्,‘ तमाम युवा साथीहरूलाई मायाका लागि न्यानो अभिवादन।’ उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् ।
यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्। उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।