संसद् विघटनलाई प्रतिगमन भन्नु आपत्तिजनक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्नु आपत्तिजनक भएको बताएका छन् । साथै आफ्नै दलका नेताहरुले अल्मल्याउने, निहुँ खोजेर कामै गर्न नदिने र समानान्तर सत्ता सञ्चालनको अभ्यास गरेपछि संसद् विघटन गर्न बाध्य भएको उनले बताए ।
सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले सुरुमै संसद् विघटनबारे स्पष्टीकरण दिएका थिए । एक वर्षदेखि गठनबन्धन सरकारको जस्तो नियति भोग्नु परेको भन्दै उनले विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाइ समितिमा अड्काउने काम भएको बताए ।
उनले अघि भने, ‘सरकारी निकायका कतिपय कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिनेगरी एक किसिमले भन्ने हो भने समानान्तर सत्ता सञ्चालनको अभ्यास गरियो । सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा आफ्नै दलका साथीहरु उत्रनुभयो ।’
वर्षदिन देखि ‘समयभन्दा अगावै’ निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौं लाञ्छना सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको समेत उनले बताए । आफ्नो सामू प्रतिनिधिसभाको बाँकी यो कार्यकाललाई ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बनाउने कि अर्काे विकल्पमा जाने ? भन्ने विकल्प मा नभएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, प्रतिनिधिसभाबाट अर्काे सरकार बन्ने विकल्प थिएन । अर्कातिर ६४ प्रतिशत सांसदद्वारा समर्थित सरकारलाई आफ्नै दलका सहकर्मीद्वारा चल्नै दिइएन ! यस्तो जटिल अवस्थामा राष्ट्रप्रति जिम्मेवार हुँदै जनतालाई ‘हिजो तपाईंहरुले दिनुभएको मतद्वारा सिर्जित यसप्रतिनिधिसभाले काम गर्न सकेन, अब ताजा जनादेशको लागि जाउँ’ भन्ने अनुरोध गर्ने निर्णयमा म पुगेँ ।’
प्रतिनिधिसभा विघटनको सिफारिसलाई ‘संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन…’ जस्ता आपत्तिजनक आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । केलाई प्रतिगमन भनेको भन्दै उनले प्रश्न गरे, संविधानले कोरेको सीमाभन्दा पछि हटेका छौँ ? के हामी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र त्यसले अंगिकार गरेको सामाजिक/साँस्कृतिक मूल्यको विरुद्धमा छौँ ? के हामी जनतासँग मत माग्ने र उनीहरुले चुनेका प्रतिनिधिबाट शासन सञ्चालन गर्ने बाटो भन्दा अलग बाटोमा हिँड्दैछौँ ? छैनौँ ! हामी कोही उल्टोतिर फर्केका छैनौँ भने प्रतिगमन भयो कसरी ?’ संसद् विघटनको बचाउ रेका उनले अराजकताको अन्त्य र राजनीतिक स्थीरताका लागि ताजा जनादेशमा जान खोजेको बताए ।