प्रहरीलाई झाँक्रीको जवाफ- पक्राउ गर्न पुर्जी लिएर आउनुहोस्
नेकपाको दाहाल-नेपाल समूहकी नेत्री रामकुमार झाँक्रीले आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेकी छन् ।
राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई बिहीबार उपस्थित हुन बोलाएको थियाे । लगत्तै सादा पाेसाकका सुरक्षाकर्मी उनलाई पक्राउ गर्न शंखमूलस्थित निवास पुगेका थिए ।
शंखमूलस्थित निवासमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, 'राज्यले नागरिकलाई बिनाकारण पनि २४ घण्टा थुन्न सक्छ । यो राजनीतिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।' नेत्री झाँक्रीले आफूलाई एसएसपी दीपक थापाले फोन गरेर महाशाखामा उपस्थित हुन भनेपछि राजनीतिक मुद्दा भएको जवाफ दिएको सुनाइन् । उनले भनिन्,' मलाई प्रहरीले पक्राउ पुर्जी दिएको छैन । उहाँहरु फर्मल्ली आउनुभएको छैन ।'
झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथि लगाउन खोजिएको बन्देज भएको बताइन् । उनले भनिन्, 'अहिले मलाई गर्न खोजिएको ह्यारसमेन्ट होला । किनभने तानाशाहहरु ढल्ने बेलामा अनेक जुक्ति लगाउँछन् ।'
नेत्री झाँक्रीले सरकारले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध कुन–कुन विषय बोल्न पाउने/नपाउने बारे सूचीकरण गर्न सुझाव दिएकी छन् । उनले भनिन्, 'मैले सवा एक घन्टामा बोलेको शृंखला हो । कुनै मान्छेलाई चोट पुग्छ जस्तो लाग्दैन । खै यो अस्मिता र इज्जतसँग कसरी जोडिन्छन् थाहा छैन । कि त सरकारले सूचीकरण गर्नुपर्यो । यस्तायस्ता विषयहरु प्रधानमन्त्री र राष्ट्रपतिको प्राइभेट विषयहरु हुन् । यसमा जनताले प्रश्न गर्न पाउने हुँदैन भनेर ।'