अझै टुङ्गो लागेन मेलम्ची सुरुङ परीक्षण
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन। सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ। यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ।
आयोजनाको दातृ निकाय एसियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गेटको पुनः जडान गरिसकेको छ। आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो। आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ/छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए।
उनले भने, 'समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ।' इटालियन कम्पनीले छिट्टै अन्तिम प्रतिवेदन बुझाउने भनेकाले लामो समय नलाग्ने सूचना अधिकारी पन्तले बताए।
कम्पनीले यसअघि दिएको प्रतिवेदनमा साना-तिना सुधार गर्नुपर्ने भए पनि ठूलो समस्या नभएको जनाएको थियो। साना किसिमका समस्या देखिएमा त्यसलाई सुधारेर पुनःपरीक्षणमा जान समय नलाग्ने उनको भनाइ छ। उनले भने, 'अरु सबै किसिमको तयारी भइसकेकाले यही महिनामा नै परीक्षण गर्न सकिनेछ।'
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो। त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटी सच्याउने काम गरेको थियो। सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो। पहिले परीक्षण हुँदा पनि इटालियन विज्ञ प्रतिनिधि ल्याइएकामा पुनः परीक्षण पहिले पनि परीक्षणका लागि पनि पुनः अर्काे टोली आएको छ।
सुरुङमा पानी परीक्षणका लागि पठाउनु पहिले चार द्वारमा सुधार गरिएको आयोजनाले जनाएको छ। द्वारको फ्रेम सुरुङको भित्तामा अड्याउने, रड हाल्ने र फ्रेम हाल्ने काम भएको थियो। फ्रेमलाई कङ्क्रिट राखेर केही दिनसम्म हेरिएको सूचना अधिकारी पन्तले बताए। सुरुङ परीक्षणका लागि पानी भरिएपछि केही दिनसम्म त्यो पानीलाई भित्र नै थुनेर राखिन्छ। सबै पानी बाहिर निकालेपछि मात्रै त्यसमा समस्या भए/नभएको थाहा हुने सूचना अधिकारी पन्तको भनाइ छ। सुरुङमा समस्या नभएको भन्ने निश्चित भएपछि मात्रै स्थायी रूपमा पानी पठाइन्छ। उनले भने, 'दुई महिना यो प्रक्रियाका लागि लाग्छ।'
सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुनेछ।
सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र छन्। यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ। उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ।