केपी ओलीलाई पशुपतिनाथले माफी दिँदैनन् : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पाप पशुपतिमा बत्ती बालेर नपखालिने बताएका छन्। बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
‘आम जनताले भन्दै छन् केपी अोलीलाई धिक्कार छ। पशुपतिनाथले पनि भन्दै होलान् केपी ओलीलाई धिक्कार छ’, नेपालले भने, ‘उनको पाप बत्ती बालेर कसैले पनि धोइपखाली गर्न सक्दैनन्।’
अहिले केपी ओली पशुपतिनाथ गएर मन्त्र जप्न थालेको तर पशुपतिनाथले माफी नदिने उनको भनाइ छ। ‘केपी ओली पशुपतिनाथको मन्त्र जप्न थाल्नु भएको छ। तर, पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘संविधान मिच्नेलाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई कसैले माफ दिन सक्दैन।’
नेता नेपालले केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर हुँदै नभएको दाबी गरेको आरोप लगाएका छन्। उनले ओलीलाई गुटको कि बालकोटको पहिलो अध्यक्ष भन्दै प्रश्नसमेत गरेका छन्।
‘निर्वाचन आोगमा गएर केपी ओलीले धम्क्याएका हुन्। केपी ओली कताको पहिलो अध्यक्ष हुन् ? केपी ओली गुटको कि कम्युनिस्ट पार्टीको ? पहिलो अध्यक्ष बालकोटको होला ? ’, प्रश्न गर्दै नेपालले भने।
नेपालले विधानदेखि पार्टीको दस्तावेज र निर्णयमा कतै पनि ओली पहिलो अध्यक्ष भनेर नलेखिएको प्रष्ट पारे।
ओली कसैले नजिताए पनि ताज लगाएर हिँडेको भन्दै निर्वाचन आयोगलाई दस्तावेज हेरेर मात्र अगाडि बढ्न उनले सुझाव दिए। ओलीले धम्क्याएको भरमा निर्णय नगरी दस्तावेज, निर्णय र विधान हेर्न सुझाव दिँदै नेपालले त्यसमा शंका लागि ४४१ जनालाई बोलाएर टाउको गन्न आयोगलाई चुनौती दिएका छन्।