पलेंटी कसेर सडकमा प्रतिक्रान्ति र प्रतिगमनका विरुद्ध जानुपरेको छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले साथीहरू आफू पनि मरिसक्ने र साथीहरू पनि मरिसक्ने स्थितिमा जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा आफूले ल्याएको बताएका छन्।
शनिबार राजधानीमा गंगा कार्की ‘विश्व’को ‘दुसाध्य जनयुद्ध’ पुस्तक विमोचनका क्रममा दाहालले कतिपय साथीहरूले कम्युनिष्ट आन्दोलन र युद्धलाई बिसर्जन गरेको आरोप लगाइरहेको भन्दै उनले त्यस्तो बताएका हुन्।
‘कतिपयलाई प्रचण्डले सब बर्बाद पारिदियो युद्धलाई शान्तिमा लगेर भन्ने लागिरहेको छ। केहीलाई परिस्थितिको बाध्यता भन्ने लागेको छ,’ दाहालले भने, ‘म आफू पनि मरिसक्ने, साथीहरू पनि मरिसक्ने त्यस्तो स्थितिमा युद्धलाई नेतृत्व गर्न सकेन भन्नुहुन्छ कि डराएको भन्नुहुन्छ?’
तत्कालीन परिस्थितिमा मिल्नेजति शक्तिसँग शान्तिपूर्ण राजनीतिमा जानु नै उत्तम थियो भन्ने उनले प्रष्ट्याए।
‘शान्तिमा रुपान्तरण नगरेको भए हामी जितिहाल्थ्यौं? त्यस्तो हुने थिएन। राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति पनि थिएन। मिल्नसक्ने जतिसँग मिलेर जाने भन्ने थियो,’ दाहालले भने। दाहालले पेरु, इन्डोनेसिया, श्रीलंका, टर्की, फिलिपिन्स र छिमेकी मुलुक भारत आफैंको युद्धको अन्दाज पनि गर्न नसक्ने परिस्थितिमा शान्तिपूर्ण बाटोमा आन्दोलनलाई ल्याएको बताए।
‘इतिहास साक्षी छ, मलायाको कम्युनिष्ट आन्दोलन के थियो? बर्मामा के भयो? कम्युनिष्ट भन्ने नामोनिशान नहुने परिस्थिति आँकलन गर्न सकिएन,’ दाहालले भने।
जनयुद्धको नेतृत्वकर्ता, रणनीतिकार, योजनाकार, कार्यान्वयको सक्रियता र गतिशीलता। नैति, भौतिक रुपमा मुख्य जिम्मेवार पनि आफैं भएको उनले बताए।
‘र, शान्ति सम्झौतामा ल्याउने पनि म नै भएँ। संविधानसभामा लैजाने पनि म नै भएँ। शान्तिलाई संविधानसभामा परिणत गर्दै संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने म नै हुँ,’ दाहालले भने, ‘प्रचण्डको व्यक्तिगत मनोकांक्षा र चाहनाले गर्दा भएको हो भनी यसलाई व्यक्तिकरण गर्ने प्रयास पनि भइरहेको छ। तर, म जिम्मेवार छु। मेरो टाउकोमा ऋण छ। मैले किन यहाँसम्म ल्याएँ भन्दा कम्युनिष्ट आन्दोलनको एकता र समाजवादको नयाँ मोडलको खोजीका लागि ल्याएँ।’
दाहालले यसको प्रामाणित आधिकारिक उत्तर दिन अरूलाई सजिलो नभएको बताए।
‘समाजवादको नयाँ मोडलको खोजीमा जाँदा अहिले फेरि हामी सडकमा जानुपरेको छ। पलेंटी कसेर सडकमा प्रतिक्रान्ति, प्रतिगमनका विरुद्ध जानुपरेको छ,’ उनले भने, ‘तिनै हिजोका प्रतिक्रियावादीहरूबाट अहिले गणतन्त्रमाथि प्रहार भएको छ। यस्तो अवस्थामा एकले अर्लाई धारेहात लगाएर बस्ने सवाल छैन।’