ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरे : प्रचण्ड
(काठमाडौं) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको टिप्पणी गरेका छन् । सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ७० वर्ष लडेर ल्याएको गणतन्त्रलाई रक्षाका लागि संघर्षको मैदानमा उत्रन आह्वान गरे ।
प्रचण्डले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी र निरंकुश कदमको विरुद्ध एकजुट भएर लाग्न आग्रह गरे। उनले अहिलेसम्मको उपलब्धी रक्षाका लागि जनताको अदालतमा जानुपर्ने तर्क गरे। उनले ढिलो नगरी जनअदालतमा गएर चाँडो फैसला सुनाउन तयार हुनुपर्ने स्पष्ट पारे।
प्रचण्डले एकताका बेला भएको सहमति र सम्झौता ओलीले नमान्दा अहिलेको अवस्था आएको बताउँदै अध्ययन गर्न आग्रह गरे। उनले भने,‘प्रतिवेदन र सम्झौता अध्ययन गर्दा को सहि, को गलत छुट्याउन सहज हुन्छ।’
उनले सूर्य चिन्ह र लोगो आफूले पाउने भएकाले शंका नगर्न पुन: आग्रह गरे । ९ गते देशका प्रमुख शहर र काठमाडौंमा हुने ऐतिहासिक प्रदर्शनमा सहभागि हुन सबैंलाई आह्वान गरे।