संसद् पुनर्स्थापनाकाे मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने
(काठमाडौं) संसद पुनर्स्थापनाकाे मुद्दामा सर्वाेच्च अदालतमा आज (आइतबार)देखि निरन्तर सुनुवाइ हुने भएकाे छ । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि पुनर्स्थापनाकाे माग गर्दै सत्तारूढ दल नेकपाकै असन्तुष्ट नेता सांसद लगायतले सर्वाेच्चमा रिट दायर गरेका थिए । ती रिट निवेदनको तथ्यमा प्रवेश गरी आइतबारबाट सर्वाेच्चकाे संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हाे ।
यसअघिका बहस रिट निवेदनकाे सुनुवाइ बृहत् पूर्ण इजलास कि संवैधानिक इजलासमा गर्ने भन्ने बारेमा थियाे । त्यसकाे टुङ्गो लागेसँगै आइतबारबाट संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ हुने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजबाट मूल विषयवस्तुमा प्रवेश गरेर बहस सुरू गर्ने जनाइएकाे छ । यसअघि शुक्रबार (माघ १ गते) गम्भीर संवैधानिक विषयकाे मुद्दा भएकाले उक्त रिटहरूमाथि संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने टुंगाे लागेकाे थियाे । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा गत पुस २२ र २९ गते पनि बहस भएकाे थियाे ।
गत पवुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएकाे थियाे, सजसालाइ राष्ट्रपतिले साेही दिन अनुमाेदन गर्नुभयाे । प्रधानमन्त्रीकाे उक्त कदमविरुद्ध पुस ६ गते सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको दाबी गर्दै संविधानकाे मर्मअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरिदिन सर्वाेच्च अदालतसामु माग गरिएको छ ।