दाहाल–नेपालले चलचित्रमा जस्तै तमासा देखाए : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपालसमूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको पनि आरोप लगाए ।
दाहाल–नेपालसमूह तर्फ प्रहार गर्दै ओलीले भने, ‘हामी आवेश र उत्तेजनामा छैनौं, आक्रोशमा छैनौं, प्रतिसोधमा पनि छैनौं । हामी रातो झन्डा फहराउनेवाला हौं । पेरिसडाँडमा जस्तो कालो झन्डा फहराउने होइनौं । रातो बेलुन उडाउने वाला हौं, कालो बेलुनवाला होइनौं । हामी सडकमा हिँड्दा रातो झन्डा बोक्ने वाला हौं, कालो झन्डा बोक्ने वाला होइनौं । हामी रातो र उज्ज्यालो भविष्यतर्फको हौँ, अन्धकारतर्फ अनिश्चततर्फको होइनौँ । हामी हाम्रो गन्तव्यमा स्पष्ट छौं–देशलाई बनाउनुछ, सुशासानको बाटोमा लैजानु छ । यसका लागि भ्रष्टाचार समाप्त पार्नुछ । हामी हाम्रो उद्देश्य, गन्तव्य, बाटोमा स्पष्ट छौं । देश बनाउन यही गन्तव्यमा हिँडनुछ ।’
ओलीले दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको आरोप थियो । ‘समाजमा विभिन्न शक्ति, तत्व र व्यक्ति हुन्छन् । उनीहरु स्वार्थका लागि अनेकप्रकारका हाउभाउ गर्छन । जनतालाई सिनेमा देखाउँछन् । हिरो हुन्छ, हिरोइन हुन्छ । उनीहरुबीच लभ परेको हुन्छ । हिरोइन घाइते हुन्छ । हिरो ब्याकुल हुनछ, रुन्छ । तर, वास्तवमा केही होइन । न लभ परेको हो, न घाइते भएको हो । सबै तमासा हो । केही मान्छे नाटक देखाउँन आउछन् । तमासा गर्छन, जनतालाई झुक्काउँछन् । हामीले जनतलाई उनीहरुको तमासाबाट सचेत गराउनुपर्छ ।’
ओलीले दाहाल–नेपालले बुद्धि गलत ठाउँमा लगाएको बताए । ‘मानिसका तीन वटा पक्ष हुन्छन ज्ञानको, बुद्धिको र मतिको पक्ष हुन्छ । सबैभन्दा पहिला देश बनाउने र बचाउने हो भने हाम्रो मति ठीक ठाउँमा राख्नुपर्छ । मति ठीक ठाउँमा राख्नुपर्छ । बुद्धिमान मान्छे मतिभ्रष्ट भए खतरनाक हुन्छ । बुद्धिमान चोर भए पुलिसले पनि पक्राउ गर्दैन । मुर्ख चोर एकछिनमा समातिन्छ । ज्ञान भनेको विषयगत कुरा हो । ज्ञान भनेको इतिहास हो,’ ओलीले भने, ‘ज्ञान भनेको विगत हो । हामीले मतिलाई ठीक ठाउमा राख्ने, आफ्नो बुद्धिको सही ठाउँमा सही प्रयोग गर्ने र आफुले प्राप्त गरेको ज्ञानलाई आधार बनाएर सिर्जनात्मक ढंगले अगाढि बढ्ने हो । जानेकै ज्ञानमात्र भूतपूर्व कुरा हो । सिर्जनतात्मक भएर मात्र विकास हुन सक्छ । हामी कहाँ छौं र हाम्रो कामको परिणाम के हुन्छ भन्ने बुझ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको बताए । ‘विकासमा बाधा पुर्याउने कोशिस हुन्छन् । सामाजिक परिवर्तनमा पनि त्यही भएको छ । हामी ती प्रयास तोडेर अगाडि जान जरुरी छ,’ उनले भने, ‘एउटा खास लडाईंको अवस्थामा छ । संसद्लाई फेरि सांसद किनबेचको, लेनदेनको, समीकरण बनाउने खेल सुरु गर्न खोजे । मैले प्रयास गरेको थिएँ, वाम पार्टी जोडेर एउटा मजबुद शक्ति बनाउने । देशलाई आधुनिक सम्भव बनाउने । तर, पार्टी त तपाईंहरुले देख्नुभयो । एक दिन पनि राम्रो भन्न सकेनन् । आँट नभएको, हुति नभएको र मन नभएको पार्टी भयो । नेतृत्वको यस्तो पंक्ति बनाउन खोजेको थिएँ, तर, देशका लागि होइन, आफ्ना निम्ति मर्ने नेतृत्व भयो ।’