भैरहवामा ४१ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
रुपन्देही — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक व्यापारीको गोदाममा छापा मारेर ४१ लाख ३२ हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको गोदाममा लुकाइछिपाइ सामान राखिएको सूचनाका आधारमा मंगलबार खानतलासी गरिएको थियो। सो क्रममा ४१ लाख ३२ हजार २२४ रुपैयाँ बराबरका विभिन्न सामग्री फेला परेका हुन्।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द का अनुसार बरामद सामग्रीमा २३ लाख ३२ हजार रुपैयाँ बराबरको ५३ बोरा खरबुजाको बीउ, ५ लाख ७० हजार २४० रुपैयाँ मूल्यका ४४ कार्टुन कोलगेट, ११ लाख ३५ हजार रुपैयाँ बराबरका २२७ बोरा ओखर तथा ९५ हजार रुपैयाँ मूल्यका ३८ बोरा मकै रहेका छन्।
बरामद गरिएका सबै सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।