'काठमाडाैं जाेगाउन खटेका थियाैँ, आफैँ संक्रमित भयाैँ'
प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरे प्रहरी प्रधान कार्यालयको कोरोना हेल्थ डेस्कमा कार्यरत थिए । हेल्थ डेस्कले देशभरका संक्रमित प्रहरी कर्मचारीको कन्ट्याक्ट ट्रेसिङदेखि उनीहरूको अवस्था र उचार प्रक्रियाबारे अपडेट लिने काम गर्छ ।
त्यसबाहेक आमसर्वसाधारणका बारेमा पनि हेल्थ डेस्कले नै डाटा संकलन गर्दै आएको छ । सुरुदेखि नै सोही हेल्थ डेस्कमा काम गर्ने रजौरे साउनकाे अन्तिम साता आफैँ कन्ट्याक्ट ट्रेसिङमा परे । प्रहरी प्रधान कार्यालयकै केही प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनी ट्रेसिङमा परेका हुन् ।
कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो । १४ दिनको क्वारेन्टाइन र १० दिन आइसोलेसनमा बसेपछि उनी निको भए । त्यस बेला प्रहरीमा अहिलेको जस्तो संक्रमण फैलिएको थिएन । आफूमा कोरोना पुष्टि भएको र निको भएको खबर रजौरेले आफ्नो फेसबुक वालमै पोस्ट गरेका थिए ।
उनले लेखेका थिए, 'कोरोना भाइरस कोभिड–१९ विरुद्ध सुरुदेखि नै फ्रन्टलाइनमा रहेर निरन्तर काम गरेँ । त्यही क्रममा मलाई कोरोना पुष्टि भयो । र, निको भएको छ । अब फेरि संगठन र राष्ट्रसेवामा अझ प्रभावकारी ढङ्गले काम गर्नेछु ।’
त्यसरी नै बाहिरी जिल्लाबाट उपत्यकामा कोरोना संक्रमण फैलिन सक्ने भन्दै त्यसको रोकथामका लागि प्रहरी र सशस्त्र प्रहरी बलले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच तीव्र पारेको थियो ।
सरकारले अत्यावश्यक कामबाहेक उपत्यका भित्रिने सवारीसाधन र मानिसलाई प्रवेश निषेध गर्ने नीति लिएकाे थियाे ।
त्यसका लागि सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले सशस्त्र प्रहरी बलको एक टोलीलाई काभ्रे हुँदै उपत्यका भित्रिने नाका साँगामा सुरक्षाकर्मी खटियाे। यसरी उपत्यकामा कोरोना फैलिनबाट जोगाउन खटिएका टोलीका २२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भयो । त्यसमध्येका एक हुन् युवराज तामाङ ।
उनी भन्छन, ‘काठमाडौंलाई कोरोनाबाट जोगाउन सुरुदेखि नै साँगा चेकपोस्टमा ड्युटी गर्दै आएका थियौँ, कहिले आफैँलाई संक्रमण भएछ, थाहै पाएनौँ । २२ भदौमा कोरोना परीक्षण गर्दा सँगै ड्युटीमा खटिएका १० जनामा कोरोना पोजिटिभ आयो ।’
उनी थप्छन, ‘आमनागरिकको सुरक्षाका लागि सेवामा लागेका कारण हामीलाई आफूभन्दा नागरिक सुरक्षित रहून् भन्ने लाग्छ ।’
१४ दिनको क्वारेन्टाइन र १० दिन सशस्त्र प्रहरी बलकै अस्पताल बलम्बुमा बसेर शनिबारदेखि फेरि उही काममा फर्केको तामाङले बताए । ‘हामी जहिले पनि फ्रन्टलाइनमै बसेर काम गर्नुपर्छ । कोरोना भनेकाे डराएरभन्दा पनि उच्च मनोबलले जित्ने भाइरस रहेछ,’ तामाङले भने ।
तीव्र रूपमा संक्रमण फैलिँदै
माथिका दुई प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय फ्रन्टलानका सुरक्षाकर्मी भटाभट संक्रतिम हुँदै गएका छन् । शनिबार मात्रै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खटिएका ७० जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएकाे छ । जसमध्ये नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका २१ जना र राष्ट्रिय अनुसन्धान विभागका ३ जना र सशस्त्र प्रहरी बलमा १८ जना थिए । यसरी नै दैनिक संक्रमित थपिने क्रम जारी छ ।
प्रहरी प्रधान कार्यालयको आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरका ४ हजार ४ सय ३४ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ९७ जना निको भएर काममा फर्किएका छन् । १ हजार ७ सय ३६ जना आइसोलेसनमा रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेरसिंह कठायतले जानकारी दिए ।
प्रहरीमा अहिलेसम्म कोरोनाका कारण कसैले पनि ज्यान नगुमाएको उनको भनाइ छ । ‘अहिलेसम्म कोरोनाका कारण कुनै प्रहरीले ज्यान गुमाउनु परेको छैन । अहिलेसम्म काेही पनि त्यस्तो क्रिटिकल अवस्थामा छैनन्,’ एसएसपी कठायतले भने ।
प्रहरीमा कोरोना संक्रमणको दर बढे पनि नागरिकको सुरक्षामा कुनै पनि असर नपर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । त्यसरी नै कोरोना नियन्त्रणको लागि फ्रन्टलाइमा खटिएका सशस्त्र प्रहरीका १ हजार २ सय ७६ जना सुरक्षाकर्मी संक्रमित भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालको भनाइ छ ।
तीमध्ये अधिकांश निको भएर काममा फर्किएका उनले बताए । नेपाली सेनाका पनि २ हजार ५ सय ९० जना सैनिकमा कोरोना पुष्टि भएको छ । त्यसमध्ये ८ सय ८ जना निको भएर काममा फर्किसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।
तीमध्ये १ हजार ७ सय ८० जना आइसोलेसनमा रहेका उनको भनाइ छ । कोरोनाको कारण हालसम्म २ जना सैनिकले ज्यान गुमाएको पौडेलले बताए । सेनाभन्दा प्रहरी र सशस्त्र प्रहरी बल कोरोना रोकथामका लागि फिल्डमै खटिएकाले उनीहरू ज्यादा जोखिममा देखिन्छन् ।
प्रहरी प्रवक्ता एसएसपी कठायतका अनुसार फिल्डमा खटिने सुरक्षाकर्मीलाई उपलब्ध भएसम्म स्वास्थ्यसामग्री र ड्युटीबाट फर्केपछि स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ । नेपाल प्रहरी र सशस्त्र दुवैले अत्यावश्यक कामबाहेक कार्यालय र कार्यक्षेत्रबाट अन्यत्र नजान निर्देशनसमेत दिएका छन् । फिल्डमा खटिएका जनशक्तिहरूलाई सुरक्षाजाँच लगायतमा भौतिक दूरी कायम गर्न तथा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।