केरुङ नजिक पहिरोले बनेको ताल ओभरफ्लो, नेपालतर्फ बाढीको जोखिम बढ्यो
नेपाल–चीन सीमा नजिकै तिब्बतको जिरोङ (केरुङ) नाकाभन्दा माथिल्लो क्षेत्रमा पहिरोले थुनिएर बनेको कृत्रिम ताल भरिएर ओभरफ्लो हुन थालेको छ। तालको पानी बाँधमाथिबाट बग्न थालेपछि नेपाल र तिब्बत दुवैतर्फ बाढीको जोखिम बढेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार गत बुधबार आएको भीषण पहिरोपछि नदी थुनिएर उक्त ताल बनेको थियो। ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले चिनियाँ पक्षले यसअघि नै उद्धार तथा खोजी कार्य स्थगित गरेको थियो।
अहिले ताल ओभरफ्लो हुन थालेपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने सम्भावना बढेको छ। यसको प्रत्यक्ष असर नेपालतर्फ रसुवागढी तथा आसपासका तटीय बस्तीमा पर्न सक्ने भन्दै स्थानीय तहमा त्रास बढेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवामा सुरक्षा सतर्कता र परिचालन बढाइएको छ। रसुवामा खटिएका नेपाल प्रहरीका एसएसपी दीप शमशेर जबराले ताल ओभरफ्लो हुन थालेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए।
उनका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ। नदी आसपासका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
तालमा पानीको मात्रा थप बढ्दै गएमा बाँध फुट्ने वा ठूलो मात्रामा पानी तल्लो क्षेत्रमा खस्ने जोखिम रहेको छ। यस्तो अवस्था आएमा नेपालतर्फ त्रिशूली नदीको बहावमा समेत तीव्र वृद्धि हुन सक्ने भएकाले नदी किनारका बस्तीमा थप जोखिम उत्पन्न हुन सक्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।